

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान जनताको जीवनसँग जोडिन नसके कागजमा सीमित दस्तावेज बन्ने बताएका छन्। संविधान दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै शाहीले संविधान कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउँदै जनताको जीवनमा परिवर्तन र सुशासनको अनुभूति हुने गरी राजनीतिक व्यवस्थामा सुधार आवश्यक रहेको बताएका हुन्।
विदेशी प्रभाव र स्वार्थबाट राजनीतिक व्यवस्था निर्देशित हुँदै गएको दाबी गर्दै उनले यसबाट देशमा सुशासन, रोजगारी र राजनीतिक स्थिरता कायम हुन नसकेको धारणा राखेका छन्।शाहीले संविधानमा आधारभूत परिमार्जनका लागि चार प्रस्ताव अघि सारेका छन्।
पहिलो– प्रदेश संरचना खारेज गर्ने।
दोस्रो– नेपाललाई हिन्दू, बौद्ध, किराँतलगायत वैदिक–सनातन सभ्यताको पहिचानसहितको हिन्दू अधिराज्यका रूपमा पुनर्स्थापित गर्ने।
तेस्रो– राष्ट्रपति पद खारेज गरी राजसंस्था पुनर्स्थापित गर्ने।
चौथो– जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने।
यी विषयमा जनताको प्रत्यक्ष सहभागिता र जनमतका आधारमा संविधान परिमार्जन गर्न सके स्थिरता, सुशासन र जनउत्तरदायी शासनको नयाँ आधार निर्माण गर्न सकिने शाहीको भनाइ छ।