कांग्रेसकाे राजनैतिक प्रस्तावमा ७ वटै प्रदेशबाट सुुझाव संकलन गर्न को कहाँ खटिए

कांग्रेसकाे राजनैतिक प्रस्तावमा ७ वटै प्रदेशबाट सुुझाव संकलन गर्न को कहाँ खटिए

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसले नयाँ संविधानले तय गरेका आधारभूत सिद्धान्तलाई आफ्नो राजनीतिक मूल्यमान्यता र दर्शनलाई विगतमा जसरी अंगीकार गरेको थियो भोलिका दिनमा पनि ती मूल्य र दर्शनलाई अझ सवल बनाउने रणनीतिकासाथ अघि बढ्ने तयारीमा जुटेको छ।

नयाँ संविधानमा उल्लेख गरिएका विषयहरुः संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी प्रतिनिधित्व, मिश्रीत निर्वाचन प्रणाली जस्ता विषयहरुमा पार्टीभित्र नेतृत्वदेखि सबै तहका सदस्यहरुमाझ अझै पनि समान बुझाई नरहेको अवस्थामा कांग्रेसले आफ्ना वैचारिक धारणाहरुलाई आमनागिकसंग स्पष्ट गर्नुपर्ने भएकोले महासमितिमा प्रस्तुत हुने राजनीतिक प्रस्तावमा स्पष्ट गर्ने तयारीम जुटेको छ ।

त्यसका लागि राजनीतिक प्रस्ताव मस्यौदा समितिले मंसिर २ देखि ६ गतेभित्र सातै प्रदेशका केन्द्रहरुमा सम्बन्धित प्रदेशका जिल्ला सभापति, महासमिति, महाधिवेशन प्रतिनिधि, संघ र प्रदेश सभाका सांसद, क्षेत्रीय सभापति तथा भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँग राय सुझाव संकलन गर्ने भएको छ।

मस्यौदा समितिका संयोजक तथा उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समितिको बैठकले मंसिर २ गते प्रदेश २ को जनकपुर र गण्डकी प्रदेशको पोखरा, मंसिर ३ गते प्रदेश ३ को काठमाडौं, मंसिर ४ गते प्रदेश १ को विराटनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सूदूरपश्चिम प्रदेशको धनगढी तथा मंसिर ६ गते प्रदेश ५ को बुटवलमा केन्द्रीय प्रतिनिधि खटाएर राय सुझाव संकलन गर्ने निर्णय गरेको छ।

मस्यौदा समितिका संयोजक एवं उपसभापति निधिले प्रदेश तहमा रायसुझावका लागि जाँदा केहि निश्चित बुँदालाई आधार बनाएर पार्टी प्रतिनिधिहरुको राय सुझाव संकलन गरिने जानकारी दिएका छन्।

यसरी राय सुझाव संकलन गर्दा मस्यौदा समितिले पार्टीको विदेश नीति, संविधानको कार्यान्वयन मार्फत संघीयताको संस्थागत विकास, समाावेशीता, लोकतन्त्र धर्मनिरपेक्षता र समाजवादी अर्थराजनीति लगायतका करिव आधा दर्जन विषयमा पार्टीको स्पष्ट धारणा बनाउने गरी सुझाव संकलन गरिने छ।

साथै दुई दशकदेखि प्रत्यक्ष वा परोक्ष रुपमा वामपन्थी घटकहरुसँग सदन र सरकारमा राजनीतिक सहकार्य गर्दै आएको कांग्रेसले यसपटक भने प्रतिपक्षमा बसेर कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा गठन भएको सरकारको मूल्यांकनसँगै त्यसले जनताको जीवनस्तरमा पारेको प्रभाव र राजनीतिक परिदृश्यबारे आफ्नो स्पष्ट धारणा तय गर्ने तयारीमा लागेको बैठकका एक सहभागीले जानकारी दिएका छन् ।

राजनीतिक प्रस्ताव मस्यौदा समितिको छलफलका क्रममा अर्थ राजनीतिको विषयमा विशेष चासो राख्दै आएका डा. अच्युत वाग्लेले संविधान र संघीयताको कार्यान्वयनको अवस्था, अर्थराजनीतिक दर्शनको सान्दर्भिकता, अरु राजनीतिक दलप्रति कांग्रेसको दृष्टिकोण, बदलिँदो परिस्थितिमा भातृ तथा शुभेच्छुक संस्थाप्रति पार्टीको धारणा, शान्ति प्रक्रियाका बाँकी कार्यभार र सरकारप्रतिको धारणासँगै पार्टीको कुटनीतिक सम्बन्धबारे स्पष्ट धारणा बनाउन सुझाव दिएका थिए।

समितिका सदस्य गगन थापाले सामान्यतया महासमिति बैठकले तय गर्ने कुनै पनि प्रस्ताव एकवर्ष अर्थात अर्को महासमिति बैठकसम्मका लागि भएपनि यसपटकको महासमिति बैठकले संविधान र यसका केहि विषयप्रति देखिएको अन्यौलतालाई चिर्न महत्वपूर्ण हुने बताए।

विगतका महासमिति बैठकमा कांग्रेसको सहयात्रा कम्युनिष्टहरुसँग हुने गरेपनि यसपटक कांग्रेसले कम्युनिष्ट र नष्लवादी शक्तिहरुभन्दा आफूलाई के कति कारणले फरक हो भन्ने स्पष्ट धारणा र पहिचान दिने अवसरको रुपमा लिनु पर्ने सुझाव थापाले दिए।

केन्द्रीय सदस्य तथा मस्यौदा समिति सदस्य बालकृष्ण खाँणले समावेशी सिद्धान्तको रुपमा आफूहरुले पहिलो पटक कर्णाली, दलित, महिला, जनजाति, मधेसी (कदमजम)को अवधारणा अंगिकार गरेको बताउँदै यसलाई लक्षित वर्ग र समुदायका जनताले लाभ पाउने गरी दस्तावेज बनाउन जरुरी रहेको बताए।

केन्द्रिय सदस्य भीष्मराज आङदम्वेले विगतमा पार्टीका शीर्ष नेताहरुको राजनीतिक व्यक्तित्व र रवाफका कारण पार्टी नीति तथा सिद्धान्तकोबारेमा धेरै बोल्नु नपर्ने भएपनि अब त्यो परिस्थिति नरहेको भन्दै आफ्ना धारणा स्पष्ट पार्नु पर्ने जरुरी भएको बताए।
केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले विगतमा कांग्रेस र कम्युनिष्टबीच भाइ भाइ भन्ने अवस्थामा कम्युनिष्टहरु पनि लोकतान्त्रिक धारमा आएकी भन्ने लागेको भएपनि अहिले कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको सरकारका विषयमा स्पष्ट धारणा बनाउन आवश्यक भएको बताइन्।

अर्का सदस्य जीवन परियारले पार्टीको राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको विषयमा यो प्रतिवेदनमा स्पष्टता देखाउन जरुरी भएको बताए।

कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले प्रजातन्त्रको मियोको रुपमा परिचित कांग्रेसले अहिलेको अवस्था र आगामी दिनमा आउन सक्ने राजनीतिक चुनौतिको सामना के कसरी गर्छ भन्ने मार्गचित्र स्पष्ट बनाउन आवश्यक रहेको बताए।

परम्परागत शैलीबाट पार्टी अघि बढ्न नसक्ने बताउँदै दाहालले अब कांग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा आक्रमक शैली अपनाउँदै त्यसलाई विधान सरह कार्यान्वयनमा लैजानु पर्ने सुझाव दिए।

प्रदेश नं. २ को जनकपुर (धनुषा) मा कार्यक्रम संयोजकः केन्द्रीय सदस्य दिलबहादुर घर्ती, केन्द्रीय सदस्य डा. डिला संग्रौला र प्रतिनिधिः हरिहर विरही जाने भएका छन् ।

गण्डकी प्रदेश पोखरा (कास्की) मा प्रमुख अतिथि: सभापति शेरबहादुर देउवा,
उपसभापति एवं राजनैतिक प्रस्ताव मस्यौदा समितिका संयोजक विमलेन्द्र निधि,
प्रतिनिधिः उपेन्द्र केशरी न्यौपाने र विष्णु वुढाथोकी जाने भएका छन् ।

प्रदेश नं. ३ को काठमाडौँ (नेपाली काँग्रेस, केन्द्रीय कार्यालय, ललितपुर) मा प्रमुख अतिथि : सभापति शेरबहादुर देउवा । कार्यक्रम संयोजकः केन्द्रीय सदस्य गगनकुमार थापा, केन्द्रीय सदस्य इश्वरी न्यौपाने, प्रतिनिधिः पुरुषोत्तम दाहाल, राजु नेपाल, नानुमैया वास्तोला, प्रमोदहरि गुरागाईं र रामजी दाहाल  जाने भएका छन् ।

प्रदेश नं. १ को विराटनगर (मोरङ) मा प्रमुख अतिथि: सभापति शेरबहादुर देउवा, कार्यक्रम संयोजक : केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, प्रतिनिधिः राजु नेपाल र नानुमैया वास्तोला जाने भएका छन् ।

कर्णाली प्रदेशको वीरेन्द्रनगर (सुर्खेत) मा प्रमुख अतिथि: पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला,
कार्यक्रम संयोजक: केन्द्रीय सदस्य किशोर सिंह राठौर, प्रतिनिधिः खेमराज थापा जाने भएका छन् ।

सुदुर पश्चिम प्रदेशको धनगढी (कैलाली) मा कार्यक्रम संयोजकः केन्द्रीय सदस्य जीवन परियार, केन्द्रीय सदस्य गगनकुमार थापा, प्रतिनिधि: डा. अच्युत वाग्ले, रामजी दाहाल जाने भएका छन् ।

प्रदेश नं. ५ को बुटवल, रुपन्देहीमा प्रमुख अतिथि : सभापति शेरबहादुर देउवा, कार्यक्रम संयोजकः केन्द्रीय सदस्य बालकृष्ण खाँण, केन्द्रीय सदस्य भिष्मराज आङ्गदम्वे, प्रतिनिधिः डा. गोविन्द पोखरेल, छन्दबहादुर पहराई, गेजा शर्मा वाग्ले जाने भएका छन् ।