कांग्रेसका पाँच जिल्ला सभापतिलाई लेबी बुझाउन पत्र

कांग्रेसका पाँच जिल्ला सभापतिलाई लेबी बुझाउन पत्र

काठमाडौं । नेपाली कांग्रेसले पाँच जिल्लाका जिल्ला सभापतिलाई क्रियाशील सदस्यता शुल्क (लेबी) केन्द्रमा बुझाउन पत्राचार गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते बागलुङका जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई पत्र पठाउँदै लेबी बुझाउन निर्देशन दिएका हुन्।

पत्रमा १५औँ महाधिवेशन प्रयोजनका लागि वडा तह हुँदै जिल्ला तहमा संकलन भएको क्रियाशील सदस्यता शुल्क अझै केन्द्रमा दाखिला नभएको उल्लेख गरिएको छ। सम्बन्धित जिल्ला सभापतिलाई असोज २ गते दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयको बैंक खातामा रकम जम्मा गर्न भनिएको छ।

यसैबीच, कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया अघि बढाउने कार्यतालिका तय गरेको छ। महाधिवेशनको तयारीलाई लिएर केही जिल्लामा विवाद देखिएको र कञ्चनपुर, डोटी, मुगु तथा बागलुङमा नयाँ कार्यवाहक सभापति तोकिएको कांग्रेसले जनाएको छ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया र नेतृत्वलाई लिएर मतभेद कायम रहेका बेला लेबी दाखिलाको निर्देशन आएको हो। पछिल्लो समय पार्टीले महाधिवेशन प्रक्रिया अघि बढाउने र जिल्ला तहको सांगठनिक व्यवस्थापनसम्बन्धी निर्णयहरूलाई कार्यान्वयन गर्ने क्रम तीव्र बनाएको देखिन्छ।