‘बेहुली’को शानदार व्यापार, दोस्रो हप्तामा पनि उत्साहजनक प्रदर्शन

‘बेहुली’को शानदार व्यापार, दोस्रो हप्तामा पनि उत्साहजनक प्रदर्शन

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’ले पहिलो हप्तामा उत्साहजनक व्यापार गर्दै दोस्रो हप्तामा प्रवेश गरेको छ। प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार चलचित्रले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको छ।

पोखरेलका अनुसार यो कमाइसँगै प्रदर्शनमा आएका तथा केहीअघि रिलिज भएका अन्य चलचित्रको तुलनामा पनि राम्रो हो। चलचित्रले देशभरका विभिन्न हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी अहिले विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हल भ्रमणका क्रममा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको भनाइ छ।

नेपालमा सफल प्रदर्शन गरिरहेको ‘बेहुली’ अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशमा समेत प्रदर्शनमा आएको छ। चलचित्रले नेपाली समाजको यथार्थ, युवा पुस्ताको भावना र पारिवारिक सम्बन्धका मार्मिक पक्षलाई कथावस्तु बनाएको छ।

‘बेहुली’मा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ। चलचित्रको लेखन माधव शर्माले गरेका छन् भने निर्देशन सशान कँडेलले गरेका हुन्।

चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल तथा सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।