वाग्ले–सीतारमण भेटवार्तामा बाढीपछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

वाग्ले–सीतारमण भेटवार्तामा बाढीपछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा वाग्ले र सीतारमणबीच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए।

भेटवार्ताका क्रममा विकास सहकार्य तथा नेपाल–भारतबीच लामो समयदेखि कायम आर्थिक साझेदारीका विभिन्न विषयमा विस्तृत छलफल भएको भ्रमणमा सहभागी प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिए।

उनका अनुसार छलफलमा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत आपसी हितका विषय समेटिएका थिए। त्यस्तै, नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप मजबुत, व्यापक र प्रभावकारी बनाउने सम्भावना तथा अवसरबारे पनि दुवै पक्षबीच छलफल भएको जनाइएको छ।