राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी प्रतिवेदन समितिबाट पारित

राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी प्रतिवेदन समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले विधेयकमाथि अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए।

सभापति ढकालका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सचिवलाई निर्देशन दिइएको छ। पारित प्रतिवेदन प्रतिनिधिसभाको बिहीबारकै बैठकमा पेस गर्ने तयारी गरिएको छ।

समितिले राष्ट्रिय सेवा दल विधेयक अध्ययनका लागि गत भदौ ४ गते उपसमिति गठन गरेको थियो। उपसमितिमा सदस्यको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। समितिले दीपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई भदौ २२ गतेदेखि लागू हुने गरी उपसमिति सदस्यको जिम्मेवारी दिएको हो। राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा (३) बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ।