शर्मा, पुन र महरासँग रिसाए प्रचण्ड, अल्पमतमा पर्ने भएपछि ओलीले बनाए यस्तो डिजाइन

शर्मा, पुन र महरासँग रिसाए प्रचण्ड, अल्पमतमा पर्ने भएपछि ओलीले बनाए यस्तो डिजाइन

काठमाडौं । पार्टी एकीकरण र स्थायी सरकारको नारा दिएर बहुमत ल्याएको बाम गठबन्धनभित्र सत्ता समीकरणलाई लिएर विवाद उत्पन्न भएको छ । एमालेका अध्यक्ष केपी ओलीमाथि पार्टी एकीकरण गर्न रुचि नदेखाएको आरोप छ ।

एमालेका महासचिव ईश्वर पोखरेल र उनको समूहले माओवादी केन्द्रसँग पार्टी एकीकरण नगर्न दवाव दिइरहेका छन् । महासचिव पोखरेललाई प्रयोग गरेर ओलीले पार्टी भाँडिने गरि अभिव्यक्ति दिइरहेका छन् ।

ओलीले पार्टी एकीकरण विरुद्ध आएका अभिव्यक्तिहरूलाई रोक्न कसैलाई पनि निर्देशन दिएका छैनन् । ओलीकै गुटले पार्टी एकता विरोधी अभिव्यक्ति दिएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउँदै आएका छन् । तर, ओलीले त्यसलाई चासो नदिएको गुनासो माओवादीको छ ।

प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष आफै हुने सोचमा रहेका ओलीको भित्री मनसाय बुझेपछि माओवादीले पनि बाम गठबन्धनको सरकार बन्नु अगाडि पार्टी एकीकरण हुनुपर्ने अडान लिएको छ ।

मंगलबार खुमलटारमा बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा पनि ५०–५० प्रतिशत भागबण्डा हुने गरेर पार्टी एकीकरण र सत्ता समीकरणको कुरा अगाडि बढाउनुपर्ने प्रस्ताव पारित भएको छ । माओवादीका नेता देवेन्द्र पौडेलले एमालेसँग सिधै पद बाँडफाँडमा कुरा हुने बताए ।

स्रोतका अनुसार पार्टी एकीकरण हुँदा आफू अल्पमतमा पर्ने डरले ओलीले माओवादीसँगको एकता प्रक्रियालाई रुचाएका छैनन् । एमालेले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा मात्रै ८० सिट जितेको छ । ८० सिटमा ओली समूहका ५४ जनाले निर्वाचन जितेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल समूहले २६ सिट जितेका छन् । यस्तो अवस्थामा पार्टी एकीकरण हुने हो भने माओवादीबाट आउने सांसद ३६ सांसद गरेर ६२ पुग्छ । पार्टी एकीकरणपछि आफू अल्पमतमा पर्ने र शक्ति गुम्ने डरका कारण ओलीले माओवादीलाई बाहिर राख्ने षड्यन्त्र गरेको माओवादीका एक नेताले बताए ।

ओलीबाट शक्ति गुम्यो भने महासचिव पोखरेलसहितका नेताहरूको राजनीति धरापमा पर्ने निश्चित छ । सोही कारण पोखरेल समूहले कुनै पनि हालतमा पार्टी एकीकरण गर्न नदिने बरु उपेन्द्र यादवको संघीय फोरमलाई लिएर सरकार बनाउनेतर्फ लागेको छ ।

यो कुरा बुझेका प्रचण्डले पनि एमाले र ओलीलाई साइजमा ल्याउन कांग्रेसहितका मधेस केन्द्रित दल र केही स्वतन्त्र सांसदहरूसँग कुराकानी सुरु गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बन्न तयार हुने हो भने कांग्रेस र मधेस केन्द्रित दलहरूले पाँच वर्षका लागि लिखित रुपमै साथ दिने पक्का छ ।

यति मात्रै होइन प्रचण्डलाई भड्काउन ओलीले जनार्दन शर्मा र वर्षमान पुन तथा कृष्णबहादुर महरालाई एक्लाएक्लै भेटेर मन्त्री र सभामुखको पद बाँडेका छन् । स्रोतका अनुसार ओलीले शर्मा र पुनलाई गृहमन्त्रीको लोभ देखाएका छन् ।

ओलीले महरालाई सभामुखको वचन दिएका छन् । ओलीले आफ्नो दलका नेताहरूलाई एक्लाएक्लै भेटेर प्रलोभनमा पारेको थाहा पाएपछि प्रचण्डले पनि जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महरालाई धेरै विश्वास गर्न छाडेको स्रोतले जनाएको छ । ओलीले माओवादीभित्र चलखेल गरेको कुरा प्रचण्डलाई फिटिक्कै मन परेको छैन ।

स्रोतका अनुसार प्रचण्डले बाम गठबन्धनको सरकार बन्यो भने माओवादीका तर्फबाट गृहमन्त्रीमा चक्रपाणि खनाल ‘बलदेव’लाई अगाडि सार्ने संकेत गरेका छन् । शर्मा र पुनले ओलीको बहकाउमा लागेर गतिविधि गरेको भन्दै प्रचण्ड उनीहरुसँग रिसाएका हुन् ।

शर्मा र पुनसँग बदला लिन प्रचण्डले बलदेवलाई भावी गृहमन्त्रीका रुपमा चर्चामा ल्याएको स्रोतको भनाइ उदृत गर्दै यूनाइटेड पोस्ट साप्ताहिकले छापेको छ।