‘ग्रे जोन’को रिपोर्ट आफूले नपढेको रविको दाबी

‘ग्रे जोन’को रिपोर्ट आफूले नपढेको रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘ग्रे जोन’मा आएको भनिएको रिपोर्टबारे आफू अनभिज्ञ रहेको बताएका छन्। सर्वदलीय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै लामिछानेले उक्त रिपोर्ट आफूले नपढेको दाबी गरे। पत्रकारले ‘ग्रे जोन’को रिपोर्टलाई कसरी हेर्नुभएको छ भनेर सोध्दा उनले रिपोर्टको स्रोत र विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफूले नपढेको बताएका हुन्।

‘के रहेछ ग्रे जोन, मलाई सुनाइदिनुपर्‍यो। कुन पत्रिका रहेछ, कहाँ निस्किँदो रहेछ?’ उनले पत्रकारलाई प्रतिप्रश्न गरे। पत्रकारले सामाजिक सञ्जालमा रिपोर्ट व्यापक रूपमा फैलिएको बताएपछि लामिछानेले आफूले नपढेको दोहोर्‍याए।

‘हो र? मैले त पढ्या छैन। जुन चिजको क्रेडिबिलिटी छैन, त्यो त म पढ्दिनँ,’ उनले भने। उनले विश्वसनीय स्रोतबाट आएको सामग्री भए आफूले पढ्ने तर आधारहीन वा अनर्गल विषयमा समय खर्च गर्न नचाहेको बताए।

‘अण्टसण्ट लेख्नुभएन भने त पढ्छु। अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय… यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने?’ उनले भने।