रविको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै

रविको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै

काठमाडौं । राजनीतिक दलहरूको शीर्ष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।

बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत र जनमोर्चालगायतका दल सहभागी हुने जानकारी दिए।उनका अनुसार दीर्घकालीन रूपमा विकास निर्माण तथा विपद् जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउन संयन्त्रलाई निरन्तरता दिने सहमति भएको हो।

‘बाढी गएको भोलिपल्टै पार्टी सभापतिज्यूले सर्वदलीय संयन्त्रको बैठक आह्वान गर्नुभएको थियो। दिगो रूपमा समग्र विकास निर्माण र विपद् जोखिम न्यूनीकरणलगायतका काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ,’ खरेलले भने।

बैठकले संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि गरेको छ। त्यसका लागि सभामुख र संसद्लाई औपचारिक रूपमा अनुरोध गर्ने निर्णय भएको छ।

‘सर्वदलीय संसदीय उच्चस्तरीय संयन्त्र बनाउने सहमति भएको छ। एक हप्ताभित्र संसदीय समिति बनाउने र संसद्मा प्राप्त सिट संख्याका आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुखसमक्ष र संसद्समक्ष अनुरोध गरिनेछ,’ खरेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको आगामी संयुक्त राष्ट्रसंघ महासभा सहभागिताबारे समेत छलफल भएको थियो। नेपालले विश्व मञ्चमा जलवायु परिवर्तन र जलवायु न्यायको विषय सशक्त रूपमा उठाउनुपर्नेमा नेताहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। रास्वपा प्रवक्ता खरेलका अनुसार बैठकमा सहभागी राजनीतिक दल तथा शीर्ष नेताहरूले सर्वदलीय बैठक आह्वान गरेकोमा रवि लामिछानेलाई धन्यवादसमेत दिएका छन्।