कांग्रेसको महाधिवेशन एक घण्टा पनि सर्दैन: गगन थापा

कांग्रेसको महाधिवेशन एक घण्टा पनि सर्दैन: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयभन्दा एक घण्टा पनि नसर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले महाधिवेशनको तिथि–मिति सर्ने हो कि भन्ने कुनै पनि अलमलमा नपर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे। उनका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ भने असोज १६ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ।

‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन एक घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला,’ उनले भने।

महाधिवेशनमा सहभागी हुन कसैलाई वञ्चित नगरिएको दाबी गर्दै थापाले सबैले सहभागिता जनाउने विश्वास व्यक्त गरे। महाधिवेशनपछि पार्टीपंक्ति नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्न देश दौडाहामा निस्कने उनले बताए।

‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ। जिम्मेवारीमा नआउने साथीहरूलाई पनि साथ लिएर नागरिकसँगको विश्वास जोड्न हामी ७७ जिल्ला पुग्छौँ,’ उनले भने।

आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले कहाँ जोखिम लिनुपर्छ भन्ने राम्रोसँग बुझेको पनि थापाले बताए। पार्टीभित्रको कमजोरी सुधार्ने विषयमा कठोर र एकता कायम गर्ने सवालमा लचक बन्नुपर्ने उनको भनाइ थियो।

‘जहाँ नरम हुनुपर्छ, त्यहाँ नरम हुने हो। जहाँ निर्मम हुनुपर्छ, त्यहाँ निर्मम हुने हो। पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम हुने हो। पार्टीभित्रको एकता बनाउनका लागि नरम हुने हो। मैले त्यही सिकेको छु,’ उनले भने।