

काठमाडौँ । अभिनेत्री विपना थापाले आफ्ना भारतीय पति आशुतोष भारद्वाजले पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोग गर्दै आएका अभद्र, अश्लील तथा आपत्तिजनक भाषाप्रति गम्भीर चिन्ता र आपत्ति जनाएकी छन्।
फेसबुकमार्फत भावुक स्टाटस सार्वजनिक गर्दै थापाले श्रीमान्ले सामाजिक सञ्जालमा लेखेका तथा बोलेका आपत्तिजनक कुरासँग आफ्नो र आफ्नो परिवारको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन्।
उनका अनुसार पति आशुतोषले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्री तथा अडिओहरूमा अश्लीलता र अभद्रताको सीमा पार भएको छ। त्यस्ता अभिव्यक्तिले सभ्य व्यक्तिको समेत शिर झुकाउने अवस्था सिर्जना गरेको उनले उल्लेख गरेकी छन्। आशुतोषले आफूलाई मात्र नभई सुख–दुःखमा साथ दिने हितैषीहरूलाई समेत आपत्तिजनक रूपमा निशाना बनाएको उनको भनाइ छ।
थापाले विगत केही समयदेखि यस्ता गतिविधिका कारण आफू, आफ्ना बच्चा र परिवारका सदस्यहरू मानसिक रूपमा प्रताडित हुँदै आएको बताएकी छन्। अवस्था सुधार हुने आशामा आफूले धेरै कुरा चुपचाप सहँदै आएको पनि उनले उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा पतिले लेखेका वा बोलेका कुनै पनि आपत्तिजनक विषयसँग आफ्नो वा परिवारको लेनादेना नरहेको भन्दै उनले त्यस्ता गतिविधिलाई आफूहरूले कुनै पनि रूपमा समर्थन नगर्ने स्पष्ट पारेकी छन्।
गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै आशुतोषलाई समस्याबाट बाहिर निकालेर सामान्य जीवनमा फर्काउन आवश्यक उपचार तथा पुनर्स्थापना (रिह्याबिलिटेसन) प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिएकी छन्।
पतिको गतिविधिबाट चित्त दुखेका तथा आहत भएका सबैसँग थापाले माफी मागेकी छन्। साथै, विवाद थप बढ्न सक्ने भन्दै त्यस्ता आपत्तिजनक पोस्ट, अडिओ तथा स्क्रिनसट पुनः सेयर नगर्न र कठिन परिस्थितिमा परिवारको गोपनीयताको सम्मान गरिदिन उनले आग्रह गरेकी छन्।
विपना थापाले भारतीय नागरिक डा. आशुतोष भारद्वाजसँग विवाह गरेकी हुन्। उनीहरूका एक छोरा छन्।