

काठमाडौँ । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा सहभागिताका लागि हुने अमेरिका भ्रमण, विभिन्न नियुक्ति तथा सचिव बढुवालगायत निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्का निर्णयहरू यस्ता छन् :
१. २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गर्ने।
२. भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमितिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने।
३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
४. काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने।
५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने।
६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।
७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।