

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै उद्योगीलाई ‘पाता नकसेसम्म’ ग्यास आपूर्ति सहज नहुने बताएकी थिइन्।
उनले नेपालमा हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, दुईवटा मात्रै भए पुग्छ,’ उनको भनाइ थियो। मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
यसैबीच, काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौँ लाइन बस्न बाध्य छन् भने बजारमा निर्धारित मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो छ।
नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारमा भने त्यसअनुसार ग्यास उपलब्ध नभएको उपभोक्ताको गुनासो छ। घण्टौँ लाइन बस्दा पनि ग्यास नपाउने अवस्था रहेको उनीहरूले बताएका छन्।