काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति पौडेलले बुधबार (भदौ २४ गते) शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट उत्पन्न अवस्थाबारे छलफल गरेका हुन्।
राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले सडक यातायात सञ्चालन तथा बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।
भौगोलिक कठिनाइका कारण सडक यातायात सञ्चालनमा समस्या भए क्षमताअनुसार ठूला बेलिब्रिजसहित आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन पनि उनले सरकारलाई सुझाव दिएका छन्।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका लागि क्षतिपूर्ति तथा जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्नेमा समेत राष्ट्रपतिले जोड दिएका छन्।
राष्ट्रपति पौडेलसँगको भेटमा मन्त्रीद्वय खनाल र लम्सालले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी गराएका थिए। त्यस्तै, बाढी प्रभावित नागरिकका लागि अस्थायी टहरा निर्माण पनि दसैँअघि नै सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको उनीहरूले बताएका छन्।
मन्त्रीद्वयले बाढीग्रस्त क्षेत्रमा वैकल्पिक सडक निर्माणसहित आवश्यक योजना सरकारले अघि बढाएको जानकारीसमेत राष्ट्रपतिलाई दिएका थिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था तथा भएको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बसोबास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले प्रभावित क्षेत्रको जनजीवन छिटो सामान्य बनाउन तत्काल गर्नुपर्ने कामलाई उच्च प्राथमिकता दिन मन्त्रीहरूलाई आग्रह गरेका छन्।