

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्। बुधबार बीपी जयन्तीको अवसरमा भिडिओ सन्देश जारी गर्दै थापाले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्डदेखि भोलिपल्ट भएका आगजनी र तोडफोडसम्मका घटनामा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने बताएका हुन्।
‘हामी हाम्रो ठाउँबाट स्पष्ट छौँ। भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भने, ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।’
भदौ २३ गते आन्दोलनका क्रममा गोली चल्दा युवाको ज्यान गएको थियो भने २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित देशभरका सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।
थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गर्दै उक्त घटनाले आफू र धेरै परिवारलाई कहिल्यै नमेटिने घाउ दिएको बताए। ‘भदौ २४ गते मेरो घर जल्यो। मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो। धेरै सार्वजनिक सम्पत्ति क्षणभरमै जलेर नष्ट भए,’ उनले भने।
उनले घटनामा घर तथा सार्वजनिक सम्पत्ति मात्र नभई धेरै परिवारले गहिरो मानसिक र भावनात्मक चोटसमेत व्यहोर्नुपरेको बताए।