

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन्। भदौ २४ लाई नेपालको इतिहासकै रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै प्रचण्डले घटनाको सत्यतथ्य पत्ता लगाई वास्तविक दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
भिडियो सन्देश जारी गर्दै उनले केही घण्टामै भएको ठूलो विध्वंसले घटना रहस्यमय बनाएको भन्दै यसका पछाडि संलग्न तत्व र वास्तविक दोषीको पहिचान गर्न गहिरो अनुसन्धान आवश्यक रहेको बताए।
प्रचण्डले घटनाको एक वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको दाबी गरे। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनमा अघि नबढाई थन्क्याइएको भन्दै उनले असन्तुष्टि जनाए।
उनका अनुसार भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ को घटनाले सम्बोधन गरेको छैन। बरु उक्त घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्दै उनीहरूको आन्दोलनलाई अपहरण गरेको प्रचण्डको दाबी छ।
प्रचण्डले भदौ २४ को घटनाका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताए। वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय स्तरबाट समेत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।