रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार लामिछानेले सम्बोधनका लागि सभामुखसँग समय मागेका छन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव तथा ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैगरी, आज दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराउनेछन्।