

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएका घटनालाई लोकतन्त्रमाथिको सुनियोजित आक्रमण भएको बताएका छन्।बुधबार विज्ञप्ति जारी गर्दै ओलीले भदौ २४ गते राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि ठूलो आक्रमण र विध्वंस भएको दाबी गरेका छन्।
उनका अनुसार नागरिकले सरकारसमक्ष असन्तुष्टि र माग राख्नु लोकतान्त्रिक अधिकार भए पनि शान्तिपूर्ण प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरी त्यसलाई हिंसात्मक र अराजक बनाएको थियो। त्यसक्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको उनले उल्लेख गरेका छन्।
ओलीले त्यसपछि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासकै कालो अध्यायको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि समेत हिंसा र विध्वंस जारी रहनुले घटना आकस्मिक आक्रोश नभई योजनाबद्ध भएको उनको दाबी छ।
उनले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने बताएका छन्। सुरक्षा निकायले राज्यका मुख्य संरचनामाथिको आक्रमण रोक्न नसकेको विषयमा पनि प्रश्न उठाउँदै त्यसको यथोचित उत्तर खोजिनुपर्ने उनको भनाइ छ।
ओलीले भदौ २४ को घटनाका आरोपीलाई उन्मुक्ति दिने तथा अनुसन्धान र अभियोजनका प्रक्रिया रोक्ने कामले राजनीतिको अपराधीकरण र दण्डहीनतालाई संस्थागत गरेको आरोप लगाए।
उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नहुनेमा जोड दिएका छन्। हिंसा र अराजकताको अन्त्य, दण्डहीनताको अन्त्य तथा राज्य दहनका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।
ओलीले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिलसमेत गरेका छन्।