

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै देशमा सुशासन कायम हुने बताएका छन्। गत वर्ष भदौ २३ गते (सेप्टेम्बर ८) भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।
यस अवसरमा प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
गत वर्ष भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। त्यस घटनाको विरोधमा भोलिपल्ट भदौ २४ गते देशभर प्रदर्शन चर्किएको थियो। दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी र तोडफोड भएको थियो।