जेनजी स्मृति कार्यक्रमप्रति रास्वपा सचेतक धितालको आपत्ति, भनिन्- ‘सहिद र घाइतेको अपमान भयो’

जेनजी स्मृति कार्यक्रमप्रति रास्वपा सचेतक धितालको आपत्ति, भनिन्- ‘सहिद र घाइतेको अपमान भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरमा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमको स्वरूप, मञ्चको बनोट तथा धर्मगुरूहरूको उपस्थितिप्रति प्रश्न उठाउँदै धितालले यसले आन्दोलनका सहिद तथा घाइतेहरूको अपमान भएको टिप्पणी गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले कार्यक्रमले आफ्ना सन्तान गुमाएका परिवार तथा आन्दोलनका घाइतेहरूको पीडालाई कसरी सम्बोधन गर्‍यो भन्ने प्रश्न उठाएकी छन्।

‘मलाई कताकता लाग्यो, हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ। मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो। त्यहाँ भएका धर्मगुरूको अर्थ के थियो?’ उनले लेखेकी छन्।

धितालले कार्यक्रमको शैलीप्रति नेतृत्व तहबाट हस्तक्षेप हुन नसकेको भन्दै समेत प्रश्न गरेकी छन्। आन्दोलनका घाइतेहरूको भावना र पीडालाई कार्यक्रमले पर्याप्त रूपमा समेट्न नसकेको उनको भनाइ छ।

उनले जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दा र अहिले देखिएको व्यवहारबीच विरोधाभास रहेको समेत टिप्पणी गरेकी छन्। प्रेस स्वतन्त्रता, निरङ्कुशताको विरोध तथा विधिको शासनका लागि गत वर्ष सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आलोचकप्रति धम्की र चेतावनीको भाषा प्रयोग भइरहेको बताएकी छन्।

‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ?’ उनले प्रश्न गरेकी छन्, ‘के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दै छौँ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?’