बाढी उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्यावश्यक उपकरण माग्यो नेपालले

बाढी उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्यावश्यक उपकरण माग्यो नेपालले

काठमाडौं । नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण तथा सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा खोज, उद्धार र डीएनए पहिचानमा संलग्न सरकारी निकायसँगको समन्वयमा थप आवश्यक उपकरण तथा सामग्री पहिचान गरी सहयोगका लागि माग गरिएको हो।

मन्त्रालयले माग गरेका सामग्रीमा उच्च क्षमताका बेली ब्रिज, महामारी नियन्त्रणसम्बन्धी सामग्री, डीएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन, पोर्टेबल जेनेरेटर, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशालाका फ्रिजर तथा हिलो र सुरुङ उद्धार पोसाकलगायत रहेका छन्।

परराष्ट्र मन्त्रालयले यी सामग्रीका लागि सम्बन्धित अन्तर्राष्ट्रिय साझेदारलाई औपचारिक रूपमा पत्र पठाइसकेको जनाएको छ।

‘आवश्यक सहयोग समयमै परिचालन गर्नका लागि समन्वय भइरहेको छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव पहिचान र राहत व्यवस्थापनका लागि आवश्यक प्रविधि तथा उपकरणको अभाव देखिएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग मागेको हो।