

टोकियो । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्।
जापान प्रहरीले हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरका २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको जनाएको छ।
झापाको चन्द्रगढीकी २५ वर्षीया लक्ष्मी राजवंशी अगस्ट १९ मा फुकुओकामा खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेर बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने आशंका गरिएको छ।
पक्राउ परेका तीनै जनाले आफूहरूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेकोबारे प्रहरीले सार्वजनिक गरेको छैन।
अनुसन्धानका क्रममा मृतक राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र सन्जु तामाङ एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको जनाइएको छ।
प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमिमा हुनसक्ने आशंकामा हत्या हुनुअघिको घटनाक्रम, सम्बन्धित व्यक्तिको गतिविधि तथा घटनास्थलका प्रमाणबारे थप अनुसन्धान गरिरहेको छ।