पुराना दल सुध्रिनुस्, अझै समय छ: गृहमन्त्री गुरुङ

पुराना दल सुध्रिनुस्, अझै समय छ: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरिरहेको आरोप लगाउँदै सुध्रिन चेतावनी दिएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जेनजी आन्दोलन इतिहास बनिसकेको भन्दै त्यसलाई फरक ढंगले व्याख्या गरेर बदल्ने प्रयास नगर्न आग्रह गरे।

उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपाली जनतालाई अपमान गर्नु भएको दाबी गर्दै पुरानो सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताए।

गुरुङले आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डका कारण राजनीतिमा नआएको दाबी गर्दै जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न प्रयासरत रहेको बताए। आफूबाट कुनै कमजोरी नहोस् भनेर सधैँ सचेत रहेको उनको भनाइ थियो।

उनले सुशासनको माग राखेर सडकमा उत्रिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप लगाउँदै वर्तमान सरकारले जेनजीका माग सम्बोधन गर्ने गरी काम गरिरहेको बताए।

सुशासन स्थापना गर्ने जिम्मेवारी दिएको भन्दै उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद दिँदै आफूले लामिछानेसँग आवश्यक सल्लाह लिइरहेको समेत बताए।