

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा पहिलो हार व्यहोरेको छ। मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमा अलआउट भयो। नेपालका लागि इसान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १ सय ६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
इसान र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २५, आशिफ शेखले ४४, अर्जुन कुमालले १४, करण केसीले २१ र गुल्सन झाले २० रन बनाए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो। उसका लागि बाबर हयातले १ सय १७ रनको अविजित शतकीय पारी खेले। साहिद वासिफले ४५ तथा एहसान खानले अविजित ३५ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए। हारका बाबजुद नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। नेपाल र हङकङले समान ६ अंक जोडे पनि राम्रो नेट रनरेटका आधारमा नेपाल समूहको शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन्।
नेपालले यसअघि बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।