

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सुशासन, जवाफदेहिता र विधिको शासनमा जोड दिएकी छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कार्कीले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी हुन्।
उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। आन्दोलनका क्रममा भएको जनधन तथा राष्ट्रिय सम्पदाको क्षतिलाई पीडादायी घटना भन्दै उनले त्यस्तो अवस्था फेरि दोहोरिन नदिन सबैले जिम्मेवार र इमानदार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताइन्।
कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिइन्।
भोटेकोसी बाढीबाट उत्पन्न विपद्प्रति समेत दुःख व्यक्त गर्दै उनले संकटको समयमा धैर्य, जिम्मेवारी र राष्ट्रिय एकताका साथ प्रभावितको सहारा बन्न सबैलाई आग्रह गरेकी छन्।