काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न पाँच दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। यससम्बन्धी छलफल गर्न बिहीवार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बैठक बस्ने भएको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए। कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका नेताहरु सहभागी हुने बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल हुनेछ।
सरकारले यसअघि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकाम हुने खाका पेश गरेको छ।
बिहिबार नै मन्त्रिपरिषद्को बैठक बस्ने भएकोले सम्भवत: सर्वदलीयमा सहमति भएमा भोलि नै प्रदेश प्रमुख तोकिनेछन् भने सरकारले पेश गरेको प्रदेश मुकामलाई स्विकृत प्रदान गरिनेछ।