

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्री माग गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार र दुर्गम तथा लेदोले पुरिएका क्षेत्रमा खोजीका लागि उच्च क्षमताका ड्रोन र लाइडर प्रविधि माग गरिएको छ।
त्यस्तै, बाक्लो लेदो तथा सुरुङभित्र सुरक्षित रूपमा उद्धार गर्न मड/टनेल रेस्क्यु सुट, पानी तथा लेदो बाहिर निकाल्न उच्च क्षमताका पम्प र बाढीले बगाएका पुलको स्थानमा तत्काल जडान गर्न बेली ब्रिज माग गरिएको छ।
सरकारले बेपत्ताको पहिचानका लागि डीएनए परीक्षण किट र ल्याब फ्रिजर तथा विपद्पछि फैलिन सक्ने सरुवा रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीसमेत माग गरेको जनाएको छ।
मन्त्रालयका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन भएका छन्।
सुरुङभित्र अझै मानिस फसेको र बाक्लो लेदोका कारण म्यानुअल उद्धारमा जोखिम बढेकाले रेस्क्यु सुट र लाइडर प्रविधि तत्काल आवश्यक रहेको मन्त्रालयले जनाएको छ।