

काठमाडौं । नेपाली सेनाले रसुवाको बाढीका कारण भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा करिब १२१ जना मात्रै फसेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुवासजंग थापाले रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, माथिल्लो त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ‘ए’ मा करिब ४० देखि ४२ जना सुरुङभित्र रहेको जानकारी दिए।
उनका अनुसार विभिन्न परियोजनासँग आबद्ध ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र फसेका भने होइनन्। त्रिशूली–३ ‘बी’ मा सम्पर्कविहीन भएकाहरू पनि सबै सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले स्पष्ट पारे।
सहायक रथी थापाले सुरुङको पूर्ण ‘ब्रेकथ्रु’ नभएसम्म फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहने बताए। सरकार वा प्राधिकरणले खोजी रोक्ने निर्णय नगरेसम्म सेनाको उद्धार अभियान निरन्तर चल्ने उनको भनाइ छ।
सेनाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकता दिएको छ। कुनै स्थानमा व्यक्ति फसेको वा फसेको हुन सक्ने सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको थापाले बताए।
खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनःस्थापनाका कामसमेत अघि बढाएको जनाएको छ। तुइन तथा झोलुङ्गे पुल निर्माण, रेकी र अवरुद्ध सडक खुलाउने काम सुरु गरिएको सेनाले जनाएको छ।