कांग्रेस महासमिति बैठक कुनै हालतमा सर्दैनः नेता ढुंगाना

कांग्रेस महासमिति बैठक कुनै हालतमा सर्दैनः नेता ढुंगाना

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसका नेता एवं बिधान मस्यौदा समितिका सदस्य आनन्द प्रसाद ढुंगानाले महासमितिको बैठक कुनै पनि हालतमा नसर्ने बताएका छन । रेडियो देशान्तरमा अन्तर्वार्ता दिदै उनले महासमिति बैठक सर्ने हल्ला गलत भएको बताएका छन् ।

कांग्रेस महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदन निर्माण कार्य ठप्प भएको भन्ने समाचारको खण्डन गर्दै ढुंगानाले विधान मस्यौदा र प्रतिवेदन लेखन एकसाताभित्र सम्पन्न हुने बताए ।

उनले २८ मंसिरदेखि काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक पुनः सर्ने सम्भावना नभएको भन्दै यसअघि ५ देखि ९ मंसिरसम्म काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक सरेको आसंकामा पुनः बैठक सर्छ भन्नु गलत भएको बताए ।

पार्टीको विधान संशोधनको मस्यौदा तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ भदौमा गठित समितिले सात विषयमा देखिएको विवादमा सहमति नजिक पुगेको उनले बताए । समितिका सदस्य ढुंगानाले तिहार र छठ पर्व परेकाले प्रतिवेदन लेखनमा ढिलाई भएको बताए ।

उनले मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीले लिने राजनीतिक रणनीति समेटिने राजनीतिक प्रतिवेदन लेख्न गठित समितिले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुर्याएको बताए । उनले उपसभापति विमलेन्द्र निधि नेतृत्वको समिति र अर्थ समितिले पनि सुझाव संकलन कार्य सकेकाले एकसातामा प्रतिवेदन तयार गर्ने बताए ।

कांग्रेसले सहमहामन्त्री डा। प्रकाशशरण महत नेतृत्वमा गठन गरेको समितिले पार्टीले कस्तो आर्थिक नीति अपनाउने भन्नेबारेमा सुझाब मागेर आज पनि उद्योगी व्यवसायीसंग छलफल गर्दै छ ।

पार्टी संगठन संघीय संरचनामा ढाल्ने गरी तयार गर्न लागिएको विधानको मस्यौदामा सात विषय विवादित बनेका छन । मस्यौदा समितिका सदस्य प्रदीप पौडेलका अनुसार पदाधिकारी थप्ने या नथप्ने भन्ने विषयमा मात्रै कुरा मिल्न बाँकि रहेको छ ।