

काठमाडौं । सभामुख डीपी अर्यालले प्राकृतिक विपद्बाट प्रभावित नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन्।
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए।
उनले बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन र पुनःस्थापनाका काम तीव्र बनाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए।
राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनको भनाइ छ। वास्तविक पीडितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्ने उनले बताए।
सभामुख अर्यालले विपद् व्यवस्थापन कमजोर हुँदा अर्को विपत्ति निम्तिन सक्ने भन्दै सामाजिक सञ्जालमा हुने अनावश्यक प्रचारबाजीप्रति समेत सचेत हुन आग्रह गरे।
उनले जोखिमयुक्त स्थानमा बस्ती बसाउन नहुने भन्दै भविष्यमा यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र कानुन निर्माण गर्दा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।