ब्रेक थ्रु नभएसम्म सुरुङमा उद्धार नरोकिने

ब्रेक थ्रु नभएसम्म सुरुङमा उद्धार नरोकिने
काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति भएका जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य ‘ब्रेक थ्रु’ नभएसम्म जारी राख्ने जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुवासजंग थापाले सरकारबाट काम रोक्ने निर्णय नभएसम्म उद्धार कार्य नरोकिने बताए।

सेनाका अनुसार बाढी प्रभावित विभिन्न जलविद्युत आयोजनामा करिब १ सय २१ जना फसेको अनुमान छ। रसुवागढी जलविद्युत आयोजनाको पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी भइरहेको छ।

त्यस्तै, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे हाइड्रो र माथिल्लो त्रिशूली–१ मा पनि उद्धार तथा खोजी कार्य जारी रहेको थापाले जानकारी दिए। उनका अनुसार सुरुङमा भएको क्षतिको अवस्थालाई हेर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ।