भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ। अझै ३ हजार ९९२ जना सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान हुन नसकेको अवस्थामा रहेका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला तथा विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्य सुरक्षा निकायले निरन्तर अघि बढाइरहेको छ। हालसम्म १ हजार ४४ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।

बाढीपछि हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले बताए।

बेपत्ता तथा फेला परेका शवको पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक १ हजार १८१ जना र मृतकका आफन्त १ हजार १९५ जना गरी २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी तथा उद्धार, शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।