

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ८ वटा विमानस्थल बन्द हुँदा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन्। ज्वालामुखीको खरानीका कारण आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित प्रभावित विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोकिएको हो।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार उडान अवरुद्ध हुँदा हालसम्म १ हजार ५५८ उडान ढिला भएका छन्। प्रभावित विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म बन्द रहने जनाइएको छ।
अधिकारीका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो। त्यसपछि आसपासमा लगातार भूकम्पीय गतिविधि देखिएको थियो। लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाजसमेत सुनिएको तथा आइतबार बिहान थप दुई विस्फोट भएको जनाइएको छ। उडान अवरोधबाट विशेषगरी सिंगापुर जाने–आउने उडान प्रभावित भएका छन्। त्यस्तै दोहा, सिड्नी र क्वालालम्पुरलगायत अन्तर्राष्ट्रिय गन्तव्यका उडानसमेत प्रभावित भएका छन्।