लायन्स क्लब अफ काठमाडौं ओमकारको राहत सिधै भोटेकोशी बाढीप्रभावितको हातमा

लायन्स क्लब अफ काठमाडौं ओमकारको राहत सिधै भोटेकोशी बाढीप्रभावितको हातमा

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका-३ र ६ का १४१ वास्तविक पीडित परिवारलाई लायन्स क्लब अफ काठमाडौं ओमकारले राहत सामग्री
वितरण गरेको छ ।

स्थानीय तहसँगको समन्वयमा वास्तविक पीडित परिवारको पहिचान गरी आवश्यकताका आधारमा राहत सामग्री सिधै प्रभावित परिवारको हातमा पुऱ्याएको क्लबका अध्यक्ष लायन सुनिल कार्कीले बताउनु भयो । राहतअन्तर्गत खाद्यान्न, दैनिक उपभोग्य सामग्री, सरसफाईका सामाग्री तथा बालबालिका तथा महिलाका कपडालगायत अत्यावश्यक सामग्री परिवारको आवश्यकताअनुसार उपलब्ध गराइएको थियो।

बाढीका कारणले आफन्तको मृत्यू, खेतियोग्य जमिन, घर, खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबका सचिव लायन रमेश पाण्डेले जानकारी दिनुभयाे । स्थानीय तहको समन्वय र वास्तविक पीडितको पहिचानलाई प्राथमिकता दिँदै राहत वितरण गरिएकाले सहायता लक्षित परिवारसम्म प्रत्यक्ष रूपमा पुगेको क्लब सचिव पाण्डेको भनाइ छ।

राहत वितरण कार्यक्रमको औपचारिक शुभारम्भ लायन राजन लाम्साल, पीएमजेएफ तथा इन्टरनेसनल डाइरेक्टर, र लायन सूर्यकुमार केसी, लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका गभर्नरले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले राहत सामग्री बोकेको सवारीसाधनमा सामग्री लोड गरी कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ओमकारका पदाधिकारी तथा सदस्यहरू, विभिन्न लायन्स क्लबका सदस्यहरू र स्थानीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले प्रभावित परिवारको अवस्था अवलोकन गर्दै राहत सामग्री लक्षित परिवारसम्म प्रभावकारी रूपमा पुयाउन सहजीकरण गरेका थिए ।

विदुर नगरपालिका-३ मा बाढीका कारण खेतीयोग्य जमिन, गाईवस्तु तथा अन्य पशुधनमा क्षति व्यहोरेका ६१ परिवार राहतका लाभग्राही बनेका छन्। त्यसैगरी, विदुर नगरपालिका-६ का ८० परिवार खेतीयोग्य जमिन, पशुधन तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेका कारण राहत प्राप्त गर्ने परिवारमा परेका छन्।

यसैगरी, बाढीका क्रममा हराइरहेका मध्ये विदुर नगरपालिका-३ का दुई परिवारका सदस्य तथा वडा नं ६ का एक परिवारका सदस्यलाई पनि लायन्स क्लब अफ काठमाडौं ओमकारले मानवीय आधारमा राहत सामग्री उपलब्ध गराएको थियो । सम्पर्कविहीन व्यक्तिहरूको परिवारलाई समेत राहतको दायरामा समेट्नुको उद्देश्य विपद्का कारण उत्पन्न तत्कालीन मानवीय संकटमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ । यसले राहत वितरणलाई केवल भौतिक क्षतिको आधारमा सीमित नराखी बाढीबाट प्रभावित परिवारको समग्र अवस्था र मानवीय आवश्यकतालाई समेत सम्बोधन गर्ने प्रयास गरिएको देखाउँछ ।

लायन रामहरि सिलवाल, MJF तथा लायन्स क्लब अफ काठमाडौं ओमकारका चार्टर प्रेसिडेन्टले बाढीपछि प्रभावित क्षेत्रमा राहत पुऱ्याउनु चुनौतीपूर्ण भए पनि वास्तविक पीडित परिवारसम्म सहयोग पुऱ्याउन क्लब प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार पुल तथा सडकमा क्षति पुगेका कारण नदीपारिका बस्तीमा राहत सामग्री पुऱ्याउन कठिन अवस्था थियो । “हामीले राहत वितरणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई वास्तविक पीडित परिवारको आवश्यकता सम्बोधन गर्ने मानवीय जिम्मेवारीका रूपमा लिएका छौँ। त्यसैले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीडितको अवस्था पहिचान गरेर आवश्यक सामग्री प्रत्यक्ष रूपमा परिवारसम्म पुऱ्याएका हौँ,” उहाँले भन्नुभयो।

कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ काठमाडौं ओमकारका कोषाध्यक्ष लायन मधुसुधन रिमालले प्रभावित परिवारका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना अझ महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार बाढीका कारण धेरै परिवारले घर मात्र नभई खेतीयोग्य जमिन, पशुधन र जीविकोपार्जनका आधारसमेत गुमाएका छन्।

“अहिले प्रदान गरिएको राहतले तत्कालको आवश्यकता केही हदसम्म पूरा गर्न सक्छ, तर प्रभावित परिवारलाई पुनः आत्मनिर्भर बनाउन दीर्घकालीन सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । लायन्स क्लब अफ काठमाडौं ओमकारले आगामी दिनमा पनि सम्भव भएसम्म प्रभावित परिवारको पुनःस्थापना तथा जीविकोपार्जनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।