बाढी प्रभावित क्षेत्रमा प्रहरीको अहोरात्र खटाइ, ड्रोन र कुकुरबाट बेपत्ताको खोजी

बाढी प्रभावित क्षेत्रमा प्रहरीको अहोरात्र खटाइ, ड्रोन र कुकुरबाट बेपत्ताको खोजी
काठमाडौं । भोटेकोशी बाढीपछि उत्पन्न चुनौतीसँग जुध्न नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र संयन्त्र परिचालन गरी खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको छ।

रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन तथा विश्लेषण, रणनीति निर्माण र उपलब्ध साधनस्रोत तथा दक्ष जनशक्तिको परिचालनलाई प्राथमिकतामा राखेर तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भोटेकोशी विपद् व्यवस्थापनमा ७ हजार ९१२ प्रहरी परिचालन भएका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्।

कुकुर र ड्रोनबाट खोजी

बेपत्ताको खोज तथा उद्धारका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ। प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा डिआइजीको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी २४सै घण्टा अनुगमन भइरहेको छ।

उक्त केन्द्रमा बेपत्ता आफन्तको खोजीका लागि परिवारबाट आउने सूचनालाई सम्बन्धित प्रहरी युनिटसम्म पठाएर खोजी कार्य अघि बढाइएको छ। हालसम्म केन्द्रमा आफन्तको खोज तथा उद्धारका लागि १ हजार ३५१ पटक अनुरोध प्राप्त भएको प्रहरी जनाएको छ।

प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर तथा जटिल संरचनामा ड्रोन क्यामेराको प्रयोग गरी खोजी भइरहेको छ। केही दिनअघि ड्रोनको सहयोगमा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।

विदेशी नागरिकको खोज तथा समन्वयका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याइएको छ।

वैज्ञानिक शव व्यवस्थापन र डीएनए परीक्षण

पहिचान हुन नसकेका शव तथा मानव अंगको व्यवस्थापन फरेन्सिक विशेषज्ञको सहयोगमा वैज्ञानिक विधिबाट भइरहेको छ। ठूलो संख्यामा शव फेला परिरहेका कारण संक्रमण तथा महामारीको जोखिमलाई ध्यानमा राखेर सुरक्षित व्यवस्थापनमा जोड दिइएको प्रहरी प्रवक्ता काफ्लेले बताए।

बेपत्ता नेपाली तथा विदेशी नागरिकका परिवारबाट डीएनए नमुना सङ्कलन गरी फेला परेका शव तथा मानव अंगको पहिचान गर्ने उद्देश्यले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए प्रोफाइलिङको काम भइरहेको छ।

आपराधिक गतिविधिमा पनि निगरानी

विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले गस्ती र निगरानी बढाएको छ। विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने ठगी नियन्त्रणमा समेत प्रहरी परिचालित छ।

सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, अफवाह तथा भ्रामक समाचारमा समेत निगरानी बढाइएको प्रवक्ता काफ्लेले बताए। राहत तथा उद्धारमा अवरोध सिर्जना गर्ने गरी गलत सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।

स्वास्थ्य उपचार र जनचेतना

बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सक टोली सुरुदेखि नै परिचालन गरिएको छ। घाइतेको स्वास्थ्य उपचारसँगै विपद्का कारण उत्पन्न मानसिक तनाव न्यूनीकरणका लागि समेत विशेषज्ञ टोलीले सेवा दिइरहेको प्रहरीले जनाएको छ।

हालसम्म प्रहरीले प्रभावित क्षेत्रमा ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएका छन्।

रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाविरुद्ध हुने दुर्व्यवहार तथा हिंसा रोक्न महिला प्रहरी परिचालन गरिएको छ। उनीहरूले गुनासो सुन्ने तथा आवश्यक मनोपरामर्शसमेत प्रदान गरिरहेका छन्।

सडक तथा विस्थापितको दैनिकीमा सहजीकरण

प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित नागरिकको दैनिकी सहज बनाउन सहयोग गरिरहेको जनाएको छ। हिलोले पुरिएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापितका घरमा सरसफाइ र मर्मतसम्भारमा समेत प्रहरी टोली खटिएको छ।

सडक अवरुद्ध भएका स्थानको सूचना संकलन तथा वैकल्पिक मार्गको जानकारी प्रवाह गरी यात्रुलाई सहजीकरण गरिएको प्रहरीले जनाएको छ।

२५ प्रहरी अझै सम्पर्कविहीन

प्रहरीले नागरिकको उद्धार तथा सुरक्षामा खटिँदा संगठनले समेत मानवीय र भौतिक क्षति व्यहोरेको जनाएको छ। बाढीपछि नागरिकको सुरक्षामा परिचालित २५ जना नेपाल प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरी प्रवक्ता काफ्लेले ठूलो मात्रामा थुप्रिएको हिलो, माटो र ढुङ्गा तथा पुनः बाढीको जोखिमका बीच पनि प्रहरी जनशक्ति अहोरात्र परिचालित रहेको बताए।

‘प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयामिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ,’ काफ्लेले भने।

<