साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि गुल्सन झाले अविजित ४४ रन बनाए भने ईशान पाण्डेले ४० र देव खनालले ३९ रनको योगदान दिए। रोहित पौडेल २४ रनमा नटआउट रहे। यस्तै, आसिफ शेखले २०, अर्जुन कुमालले १५ रन बनाए।

साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई-दुई तथा मोहम्मद शेखले एक विकेट लिए। यसअघि मलेसियाको क्लालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो।

साउदीका लागि अब्दुल वाहिदले ८९ बलमा १० चौका र दुई छक्कासहित सर्वाधिक ७७ रन बनाए। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए। ललित राजवंशीले दुई तथा गुल्सन झा र शेर मल्लले एक-एक विकेट हात पारे।

यो जितसँगै नेपालले समूह चरणका तीनै खेल जित्दै ६ अंक जोडेको छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।