

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको छ। आज दिउँसो १ बजे बस्ने कांग्रेस कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल हुने भएको छ। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी तल्लो तहका अधिवेशनको समय केही पर सार्ने तयारी गरिएको हो।
सभापति गगन थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। समितिका एक सदस्यका अनुसार वडा अधिवेशन एक साता पछि सार्ने तयारी भइरहेको छ। उनका अनुसार बाढी, सडक अवरोध, पार्टीभित्रको आन्तरिक छलफल र हरितालिका तीजका कारण अधिवेशनको कार्यतालिका केही पर सार्न लागिएको हो।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी र त्यसपछि परेको वर्षाका कारण विभिन्न स्थानका सडकमार्ग अवरुद्ध रहेकाले अधिवेशन सञ्चालनमा समेत कठिनाइ देखिएको नेताहरूले बताएका छन्।
यसबीच पार्टीभित्र सहमतिका लागि आन्तरिक छलफलसमेत जारी छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको जनाइएको छ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने मिति तय गरेको छ। यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको थियो।
अधिवेशनको कार्यतालिकामा हरितालिका तीजसमेत परेको छ। यस वर्ष तीज भदौ २९ गते परेको छ भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार गाउँ/नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते गर्ने तय थियो। महिला कार्यकर्तालाई पर्वका समयमा अधिवेशनमा सहभागी हुन कठिन हुने भएकाले पनि मिति परिवर्तन गर्न लागिएको बताइएको छ।
कांग्रेसको अर्को पक्षले भने मंसिरमा छुट्टै महाधिवेशन गर्ने गरी मिति तय गरिसकेको छ। पार्टीको आधिकारिकता तथा अन्य विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा कांग्रेसका दुवै पक्ष आ–आफ्नै महाधिवेशनको तयारीमा छन्। संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म तय भएको केन्द्रीय महाधिवेशनको मिति कायम राखेर अघि बढ्ने बताएको छ।