कृष्णभीर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास आपूर्ति

कृष्णभीर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास आपूर्ति

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।

नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका विभिन्न ग्यास उद्योगका सिलिन्डर तराई क्षेत्रका उद्योगमा रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ। निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका १६ वटा ग्यास उद्योगमा सिलिन्डर रिफिल गरिएको छ।

भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ गरी तीन दिनमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौं ल्याइएको निगमले जनाएको छ।

निगमका अनुसार श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्तेलगायत ब्रान्डका ग्यास आपूर्ति गरिएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्ड मर्मत भई नियमित रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने नेपाल आयल निगमले जनाएको छ।