

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत साउदी अरेबियाले नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको हो।
साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मोहम्मद अतिफले ३०, मोहम्मद हसिम शेखले २८ तथा जैनुल अबिदिनले १२ रन बनाए।
दोस्रो विकेटका लागि अब्दुल वाहिद र मोहम्मद अतिफबीच ९४ रनको साझेदारी भएको थियो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सनकुमार झाले एक–एक विकेट हात पारे।
नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्य राखेको छ। नेपालले यसअघि बहराइन र आयोजक मलेसियालाई पराजित गरिसकेको छ।
यता प्रतियोगिताको चौथो खेल खेलिरहेको साउदी अरेबिया पनि जितका साथ प्रतियोगिता टुंग्याउन चाहन्छ। साउदी यसअघि हङकङ र मलेसियासँग पराजित भएको थियो भने बहराइनलाई हराएको थियो।