बाढीपछि १२ दिनदेखि सम्पर्कविहीन श्रीमान्श्री-मतीको खोजीमा परिवार

बाढीपछि १२ दिनदेखि सम्पर्कविहीन श्रीमान्श्री-मतीको खोजीमा परिवार

लमजुङ । बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो। तर जेठ १० गते बिहान करिब ८ः३० बजेपछि रसुवामा बाढी आएको खबरसँगै बेँसीसहर नगरपालिका-११ का घर्ती परिवारमा चिन्ता र पीडा सुरु भयो। रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ४३ वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती त्यसयता सम्पर्कविहीन छन्।

श्रीमान्श्री-मती रहेका राधिका र झपटबहादुर करिब १०–१२ वर्षदेखि आयोजनामा कार्यरत थिए। राधिका खाना पकाउने काम गर्थिन् भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिन्थे। बाढी आएको दिन बिहान करिब ८ः३० बजेसम्म उनीहरूको परिवारसँग सम्पर्क भएको थियो।

झपटबहादुरको मोबाइल लोकेसनसमेत बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो। त्यसपछि मोबाइल सम्पर्कसँगै लोकेसन पनि हराएको परिवारले जनाएको छ। उनीहरू सुरुङ वा पावरहाउस आसपास हुनसक्ने परिवारको अनुमान छ।

परिवारका सदस्यका अनुसार बाढीपछि नेपाली सेनाले सुरुङमा एकपटक खोजी गरे पनि कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न सकेन। त्यसयता परिवारका लागि हरेक दिन आफन्तको खबर आउने प्रतीक्षामै बितिरहेको छ।

राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन्। जेठो छोरा आमाबुबाको खोजीमा जुटेका छन् भने कान्छो छोरा जापानमा छन्। छोरीको विवाह भइसकेको छ।

भतिज विशाल घर्तीले आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी पाउन चाहेको बताए। उनका अनुसार परिवार अहिले पनि उद्धार टोलीबाट आउने कुनै खबरको प्रतीक्षामा छ।

रसुवाको बाढीपछि राधिका र झपटबहादुरसहित लमजुङका १० जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।

बाढी आएको दिनदेखि नै आफन्तका परिवारको ध्यान फोनमै केन्द्रित छ। अपरिचित नम्बरबाट फोन आउँदा हराएका आफन्तको खबर आएको हो कि भन्ने आशा जाग्ने तर अर्कैको आवाज सुन्दा निराश हुनुपर्ने अवस्था रहेको परिवारका सदस्यहरू बताउँछन्।

समय बित्दै जाँदा जीवितै भेटिने आशा कमजोर भए पनि परिवारले आशा पूर्ण रूपमा त्यागेका छैनन्। उनीहरूको एउटै अपेक्षा छ—राधिका र झपटबहादुर जीवितै भेटिऊन्, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी प्राप्त होस्।

रसुवाको बाढीले भौतिक संरचनामा मात्र क्षति पुर्‍याएको छैन, थुप्रै परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ। राधिका र झपटबहादुरको परिवार पनि अहिले त्यही प्रतीक्षामा छ।