देउवा समूहले मंसिरमा छुट्टै १५औँ महाधिवेशन गर्ने

देउवा समूहले मंसिरमा छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा १५औँ महाधिवेशन गर्ने तयारी थालेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिए।

बैठकले महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश तथा निर्वाचन क्षेत्र अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालालाई आवश्यक परामर्श गरी केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत गठन गर्ने जिम्मेवारी दिइएको छ।

त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठनको जिम्मेवारी पनि कोइरालालाई दिइएको छ।

महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत बैठकले गरेको छ। ती प्रतिनिधिले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गर्ने जनाइएको छ।

विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन तयारी समितिसमेत आवश्यक परामर्श गरी गठन गरिने कुइँकेलले बताए।

संस्थापन पक्षले सहमतिको वातावरण नबनाएपछि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनुपरेको नेता डा. प्रकाशशरण महतले बताए। ‘उहाँहरू एकलौटी अघि बढ्नुभयो। महाधिवेशन कार्यतालिका रोक्न नमानेपछि हामी चुप लागेर बस्ने कुरा भएन। त्यसैले महाधिवेशनको कार्यतालिका ल्याएका हौँ,’ महतले भने।

बैठकले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित तहलाई उम्मेदवारको नाम संकलन तथा उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ। देउवा समूहको अर्को बैठक भदौ २६ गते बस्ने बताइएको छ।