

बाजुरा । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण नदीको केही भाग पुरिएको भए पनि अहिले पानीको बहाव भइरहेको छ। पहिरो थप खस्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको उनले बताए।
‘पहिरोले चौलानी नदी थुनिएको हामीले जानकारी पाएका छौँ। अहिले पानी पास भइरहेको छ। फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले सबैलाई सचेत गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने।
चौलानी नदीमा बहाव अवरुद्ध भई एक्कासि नदी फुट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ।
त्यस्तै, डडेलधुरा र बैतडीका चौलानी नदी तटीय क्षेत्रमा समेत सम्भावित जोखिमबारे जानकारी गराइएको प्रजिअ पौडेलले बताए।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ।
प्रशासनले नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।