कांग्रेस संस्थापनइतर समूहले थाल्यो छुट्टै महाधिवेशनको तयारी

कांग्रेस संस्थापनइतर समूहले थाल्यो छुट्टै महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी थालेको छ।

बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताहरूको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल भएको हो।

इतर समूहले प्रस्ताव गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेशसभा/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावमा छलफल भइरहेको छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक तयारी अघि बढाइरहेका बेला संस्थापन इतर समूह भने छुट्टै महाधिवेशनको दिशामा अघि बढेको हो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको विभाजन अझै कायम छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारी थालेका छन्।