पहिचान नखुलेका शवबारे भ्रममा नपर्न प्रधानमन्त्री शाहको आग्रह

पहिचान नखुलेका शवबारे भ्रममा नपर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीमा परी पहिचान हुन नसकेका शव व्यवस्थापनबारे भ्रममा नपर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले लेदोसहितको बाढीले शवलाई विभिन्न स्थानमा पुर्‍याएकाले तत्काल पहिचान गर्न कठिन भएको बताए। उनले पहिचान हुन नसकेका शवलाई कानुनी र वैज्ञानिक आधारमा डीएनएलगायत प्रमाण सुरक्षित राखेर व्यवस्थापन गरिएको जानकारी दिए।

‘बाढीले उहाँहरूको शवलाई फरक–फरक ठाउँमा पुर्‍यायो। हामीले कानुनी र वैज्ञानिक आधार टेकेर तत्काल पहिचान हुन नसकेका शव डीएनए लगायतका आधार सुरक्षित राखी जमिनमुनि व्यवस्थित राखी व्यवस्थापन गरेका हौँ,’ प्रधानमन्त्री शाहले भने।

उनका अनुसार पछि डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिनेछ। परिवारले शव बुझेपछि आफ्नो धर्म तथा संस्कृतिअनुसार अन्तिम संस्कार गर्न सक्ने उनले बताए।

‘डीएनए मिल्नासाथ त्यो शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ। त्यसपछि आ–आफ्नो धर्म संस्कृतिअनुसार अन्तिम संस्कार गर्नुहुनेछ,’ उनले भने।