‘यो रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘यो रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बाढीबाट उत्पन्न विपद्बारे जानकारी दिँदै प्रधानमन्त्री शाहले घटनापछि मन भक्कानिए पनि अहिले एकअर्कासँग बिलौना गर्ने समय नभएको बताए।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आफ्ना आफन्त अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरो रूपमा महसुस गरेको बताए।

‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ उनले भने।

सङ्कटको समयमा देशको नेतृत्वले आँसु बगाउनेभन्दा नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूले स्वीकार गरेको प्रधानमन्त्री शाहले बताए। उनले दृढ सङ्कल्प र साहसका साथ विपत्तिसँग जुध्नुको विकल्प नरहेको उल्लेख गर्दै सरकार उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको बताए।

‘दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने। प्रधानमन्त्री शाहले बाढीपछि नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत तथा प्रभावित क्षेत्रको व्यवस्थापनका लागि सरकारले गरिरहेका कामबारे समेत प्रतिनिधिसभालाई जानकारी गराएका छन्।