काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टान तथा हिमखण्ड अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यस्तो जोखिमले तल्लो तटीय क्षेत्रमा पुनः ठूलो विपद् निम्त्याउन सक्ने मन्त्रालयको आकलन छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीपछि सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ।
मन्त्रालयले जोखिम न्यूनीकरणका लागि विज्ञ परामर्श तथा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।
हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको जनाइएको छ।
नेपाली समयअनुसार मंगलबार बिहान ५ः४५ बजे खिचिएको ड्रोन तस्बिरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको अधिकांश पानी बगेर निकास भइसकेको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत अहिले सामान्य रहेको बताइएको छ।
यद्यपि, क्रेटर वरपर रहेका हिमनदी तथा हिमचट्टान भत्किने सम्भावना अझै कायम रहेकाले जोखिम पूर्ण रूपमा टरिनसकेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।