भोटेकोसी बाढीमा मृतकको संख्या एक हजार नाघ्यो

भोटेकोसी बाढीमा मृतकको संख्या एक हजार नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १ बजेसम्म देशका विभिन्न जिल्लामा गरी १ हजार ३ जनाको मृत्यु पुष्टि भएको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३२१ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, गोरखामा ६५, नुवाकोटमा ९५, तनहुँमा ३८, धादिङमा ५७ र रसुवामा ४१ जनाको शव फेला परेको छ।

बाढीमा परी २७९ जना घाइते भएका छन् भने उपचारपछि १६८ जना डिस्चार्ज भएका छन्। प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित विभिन्न जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकायबाट खोजी, उद्धार तथा राहत कार्य जारी रहेको छ।