रसुवा बाढीबारे राष्ट्रिय सभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

रसुवा बाढीबारे राष्ट्रिय सभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन्।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय सभाले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ। घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न तथा शवको वैज्ञानिक र सुरक्षित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न राष्ट्रिय सभाले सरकारलाई आग्रह गरेको छ।

प्रस्तावमा स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न अपिल गरिएको छ।

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै राष्ट्रिय एकता कायम गर्न समेत आग्रह गरिएको छ।