भोटेकोशी बाढीमा मृत्यु भएका विदेशीको शव हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा

भोटेकोशी बाढीमा मृत्यु भएका विदेशीको शव हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका विदेशी नागरिकको शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई नेपालले अन्तिम रूप दिएको छ।

नेपालस्थित भारतीय दूतावासका अनुसार विदेशी नागरिकको शव हस्तान्तरण गर्न आवश्यक कागजात तयार गर्ने, शवको तस्बिर तथा अन्य विवरण अभिलेख गर्ने, पोस्टमार्टम परीक्षण गर्ने र मृत्युको कारण पुष्टि गर्नुपर्नेछ।

शव पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न औँठाछाप, डीएनए वा रगतको नमुना संकलन गरिनेछ। साथै, सम्बन्धित दूतावास र नेपाली अधिकारीबीच आवश्यक समन्वय पूरा गरिनेछ।

मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर तथा विवरणका आधारमा शव पहिचान गर्न सकेमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाली अधिकारीसँग समन्वय गरी शव हस्तान्तरण तथा भारत पठाउने प्रक्रिया अघि बढाउनेछ।

ठूलो संख्यामा शव फेला परेका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले शवलाई अस्थायी रूपमा सुरक्षित राख्ने व्यवस्था गरेको भारतीय दूतावासले जनाएको छ। पहिचानका क्रममा मृतकका आफन्तबाट संकलित डीएनए नमुनासँग शवबाट लिइएको डीएनए मिलाइनेछ।

शवको पहिचान हुन नसकेको वा अस्थायी रूपमा गाडिएको अवस्थामा पनि नेपाल सरकारले डीएनए मिलान प्रक्रियामा आवश्यक सहयोग गर्नेछ। शवको डीएनए प्रोफाइल तयार गर्न नमुना संकलन भइरहेको जनाइएको छ।

मृतकका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन वा डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। यसबाट पहिचान प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।