भोलि बस्दैछ प्रतिनिधिसभा बैठक, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुने

भोलि बस्दैछ प्रतिनिधिसभा बैठक, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अनिश्चितकालका लागि स्थगित भएको सदन पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले महाविपद्सम्बन्धी विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले धारणा राख्नेछन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रतिनिधिसभाको बैठक पनि त्यसै दिन बसेको थियो। त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

भोटेकोशीमा बाढीसँगै आएको गेग्रानका कारण नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीले कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकसमेत प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परी ९८७ जनाको शव फेला परेको छ। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।

खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी बल ४ हजार २०३ जना रहेका छन्।